राजु र निशान तथा बिष्णु र मणीकृष्णलाई पुरुष डबल्सको उपाधि

एटुजेड समाचार

चितवन – राष्ट्रिय युवा परिषद् चितवनले २२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय नकआउट ब्याडमिन्टन अन्तर्गत पुरुष डबल्स ‘ए’ को उपाधि राजु थापा र निशान गुरुङको जोडीले जितेको छ ।

भरतपुर कभर्डहलमा भएको फाइनलमा विधान गुरुङ र अमर रायमाझीको जोडीलाई २१-११, २०-२२ र २०-१५ को सेटमा हराउँदै राजु र निशानको जोडीले उपाधि जितेको हो । राजु र निशानको जोडीले पहिलो सेट २१-११ ले जितेको थियो । तर दोस्रो सेट २०-२२ ले गुमायो ।

तेस्रो सेट २१-१५ ले जितेपछि राजु र निशानको जोडी विजयी भएको हो । विजयी राजु र निशानको जोडीले उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको विधान र अमरको जोडीले २० हजार रुपैयाँ प्राप्त गर्‍यो । तेस्रो हुने किरण लामा र सन्देश बस्नेत तथा कपिल श्रेष्ठ र केवल न्यौपानेको जोडीले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

उता पुरुष डबल्स ‘बी’ मा बिष्णु दवाडी र मणीकृष्ण तिवारीको जोडी विजयी भएको छ । विशाल ढकाल र जगदिश अधिकारीको जोडीलाई २१-१८, १७-२१ र २१-१० को सेटमा हराउँदै उपाधि जित्यो । विजेता दवाडी र तिवारीको जोडी २० हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो हुने ढकाल र अधिकारीको जोडीले १० हजार रुपैयाँ हात पारेको छ ।

तेस्रो स्थान हासिल गरेको अस्मिन घिमिरे र बिकास डल्लाकोटी तथा लेख गुरुङ र विजय घलेको जोडीले समान पाँच-पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै महिला डबल्सको उपाधि डबल्सको उपाधि आशिका गुरुङ र एकु आलेको जोडीले जितेको छ । फाइनलमा प्रेमु राई र माया राईको जोडीलाई २२-२०, १७-२१ र २१-१७ को सेटमा हराउँदै आशिका र एकुको जोडीले उपाधि जितेको हो । एकु र आशिकाको जोडीले पहिलो सेट २२-२० ले जितेको थियो । तर दोस्रो सेट १७-२१ ले गुमायो ।

तेस्रो सेट २१-१७ ले जितेपछि आशिका र एकुको जोडी विजयी भएको हो । विजयी हुने आशिका र एकुको जोडीले उपाधिसहित नगद दश हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको प्रेमु र माया राईको जोडीले पाँच हजार रुपैयाँ प्राप्त गर्‍यो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू