चितवन – अनिल परियार (कान) को हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले कान हत्या प्रकरणमा संलग्न साविक मंगलपुर ७ हालको भरतपुर महनागरपालिका वडा १५ का ३२ वर्षीय तिलक गैरेलाई पक्राउ गरेको हो । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार गैरेलाई बिहीबार बिहान ७ बजे रुपन्देहीबाट पक्राउ गरेको हो ।



उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीको बेलहियामा लुकीछिपी हिडि रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी प्रहरी कार्यालय चितवनमा दाखिला गरेको डिएसपी पण्डितले जानकारी दिए ।
उनलाई आज बिहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित गराईएको थियो । घटनामा संलग्न अन्यको पहिचान र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । भरतपुर–७ स्थित कृष्णपुर खेल मैदाननजिकै २०७९ वैशाख २५ गते साँझ ७. ३० बजेको समयमा परियारको हतियार प्रयोग गरी हत्या भएको थियो ।
हत्यामा संलग्न विश्व भन्ने हेमन्त वास्तोला र राहुल परियार भन्ने सुनिल राउत पुर्पक्षको लागि थुनामा रहेका छन् भने बिक्रम भन्ने रोहित प्रसाद सिलवाल २० हजार धरौटीमा रिहा भएका छन् ।