चितवन – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताए ।
“स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन,” उनले भने । एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी दिँदै उनले एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत स्पष्ट पारे ।निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै पोखरेलले मुलुकलाई सही दिशामा लैजान एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए । रासस

