चितवनमा प्रहरी हौ भन्दै नक्कली कार्ड देखाएर लुटपाट गर्ने दुईजना पक्राउ

एटुजेड समाचार

चितवन – चितवनमा प्रहरीको नक्कली कार्ड बनाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ८ गैरिवारीबाट प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्ने दुईजना पक्राउ परेका हुन् ।

शनिबार दिउँसो प्रहरीको नक्कली परिचयपत्र देखाएर लुटपाट गर्दै हिडेका रत्ननगर नगरपालिका वडा नम्बर ११ जिरौना बस्ने बर्ष २८ को विशाल पौडेल र सोहि स्थान बस्ने बर्ष ३० को विजय महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ३६ प ६५२० नम्बरको स्कुटरमा सवार उनीहरुले गैरिवारीमा आईसक्रिम तथा कुल्फि बिक्री गर्ने एक भारतिय नागरिकलाई प्रहरीको नक्कली कार्ड देखाई धाकधम्की देखाएर ५ हजार ४ सय रुपैयाँ लुटेका थिए ।

डाँका गरेर शक्तिखोरतर्फ भागेका उनीहरुलाई प्रहरीले दुईघण्टापछि शक्तिखोरबाट फर्किदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले लुटपाट गरेको रकम र नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक विशाल पौडेल लेखिएको कार्ड बरामद गरेको छ । बरामद भएको प्रहरीको परिचयपत्र नक्कली भएको प्रवक्ता अधिकारीले बताए । पक्राउ परेका दुवैजनालाई चोरी तथा डाका मुद्धामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू