चितवन – नेकपा माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम सिफारिस गरेको छ ।
पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रचण्डको नाम सर्वसम्मतले सिफारिस हो । प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ । यद्यपि प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन् ।
बैठकले चितवन ३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीनजना र ३ (ख) मा गोपाल न्यौपानेसहित आठजनाको नाम सिफारिस भएको छ ।
न्यौपाने नेकपा माओवादीका तत्कालीन बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन् । उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा उच्च माओवादी नेता हुन् ।