तमू ह्युल छोँज धीँ चितवनमा विमलादेवी गुरुङको नेतृत्व

चितवन – तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा विमलादेवी गुरुङ निर्वाचित भएकी छन्।
परिषद्को शनिबार राति सम्पन्न चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा ४६ मतसहित उनी निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी शिवकमल गुरुङले भने जम्मा १३ मत प्राप्त गरे। आगामी तीन वर्षे कार्यकालको लागि चुनिएको नयाँ नेतृत्वमा सर्वसम्मत गर्ने प्रयास गरिए पनि सहमतिमा आउन नसकेपछि दुई जनाबीच मतदान गराइएको थियो।
अध्यक्ष पदमा मात्रै तीन जनाले उमेदवारी दर्ता गरेकामा नारायणसिंह गुरुङले उमेदवारी फिर्ता गरेपछि दुई जनाबीच प्रतिष्पर्धा भएको हो। निर्वाचन अधिकृत खड्गबहादुर गुरुङका अनुसार ११८ मतदाता रहेको ह्युल छोँज धीँको मतदानमा ५९ मत खसेको थियो।
अध्यक्षबाहेक अन्य पदमा भने सबै सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा कृष्णबहादुर गुरुङ र गोपीराम गुरुङ, सचिवमा किशोर गुरुङ, संगठन सचिवमा मीनाकुमारी गुरुङ, प्रचार सचिवमा बलबहादुर गुरुङ (नेत्र), कोषाध्यक्षमा ज्ञानदेवी गुरुङ, सह–कोषाध्यक्षमा यमबहादुर गुरुङ सर्वसम्मत चयन भएका निर्वाचन कमिटिका संयोजक अधिवक्ता गुरुङले जानकारी दिए।
यस्तै परिषद्को सदस्यहरुमा भने सूर्य गुरुङ, विनोद गुरुङ, बृहस्पती गुरुङ, यमबहादुर गुरुङ, शक्तिराज गुरुङ, बुद्धिमान गुरुङ ‘क’, बुद्धिमान गुरुङ ‘ख’, लेखबहादुर गुरुङ, शिवकुमार गुरुङ र अरविन गुरुङ निर्वाचत भएका छन्।
कुल २१ सदस्यीय जिल्ला समिति रहने व्यवस्था रहे पनि विधानअनुसार हाल पदाधिकारीसहित १८ सदस्यमात्रै निर्वाचित गरिएको उनले बताए। बाँकी तीन सदस्य भने पछि कार्यसमितिले मनोनयन गर्नेछ। अधिवेशन सम्पन्न भएपछि आइतबार राति नै नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ। त्यसपछि नवनिर्वाचित अध्यक्ष विमलादेवी गुरुङले आगामी तीन वर्ष ह्युल छोँज धीँमा तन, मन, धन सबै चिजको प्रयोग गरी कार्यकाल सफल बनाउने प्रतिवद्धतासमेत जनाएकी छन्।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष गणेशबहादुर गुरुङले चितवन जिल्लाभरका सबै गुरुङलाई समेटेर काम गर्न सुझाव दिए। चितवन जिल्लाको तमू ह्युल छोँज धीँमा महिलाको नेतृत्व यो नै पहिलोपटक हो। रामबहादुर गुरुङ, चन्द्रमान गुरुङ, पदमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, सन्तलाल गुरुङ, गणेशबहादुर गुरुङ हुँदै ह्युल छोँज धीँको नेतृत्व विमलादेवी गुरुङको काँधमा आइपुगेको हो।
तपाइँको प्रतिक्रिया