चितवन – नेपाली कांग्रेस चितवनले भुँईकटर समूहको कारबाही फुकुवाका लागि सिफारिस गर्ने भएको छ ।
कांग्रेस चितवनको शनिबार बसेको आकस्मिक बैठकले गत स्थानीय तहको चुनावमा पाँच दलिय गठबन्धनविरुद्ध बिद्रोह गरेका भुँईकटर समूहको कारबाही फुकुवाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भुँईकटर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेलको कारबाही फुकुवा गर्न कांग्रेस प्रदेश समितिमार्फत केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसमितिलाई सिफारिस गर्ने निर्णय भएको हो । पौडेल, सापकोटा र खरेललाई विधानत कारबाही गरिएकोले आवश्यक प्रकृया पुरा गरी फुकुवाको लागि सिफारिसको निर्णय भएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
यस्तै स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका भिमबहादुर श्रेष्ठ, शम्भुप्रसाद अर्याल, सूर्य बस्नेत, आनन्दराज राउत र केशव पौडेलको पनि निलम्बन फुकुवा गर्न सिफारिस गरिने खनालले बताए । कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा देखिएको समस्या समाधानका लागि केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्व सभापति रामकृष्ण घिमिरे सदस्य रहने गरी समिति बनाएको थियो ।
समितिले तीन दिन अघि जिल्ला कार्यसमितिलाई प्रतिवेदन बुझाएको थियो । सोही समितिको प्रतिवेदनको आधारमा कारबाही फुकुवाका लागि सिफारिस गर्ने निर्णय भएको कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले जानकारी दिए । आज दिउँसो जिल्ला कार्यसमितिले प्रदेश समितिलाई सिफारिस पत्र पठाउने अधिकारीले बताए । जिल्लाको सिफारिस प्रदेशले केन्द्रीय समितिमा पठाउने छ ।
यस्तै शनिबारको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्राप्त उम्मेदवारी दर्ता नामावली प्रदेश र केन्द्रीय समितिमा पठाउने निर्णय पनि गरेको छ ।
यसैबीच कांग्रेस चितवनले भाद्र २४ गते संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०९ औं जन्मजयन्ती बिशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्मानसहित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा कार्यक्रम गरिने जिल्ला सभापति खनालले जानकारी दिए ।