मोरङमा एकै दिन दुई महिलामाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

विराटनगर – मोरङमा एकै दिन दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर–१४ जतुवामा ५ जनाले १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
राति ९ः३० बजे केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको छ ।
सो समूहबाट भागेका युवकले गाउँमा गएर होहल्ला गरेपछि किशोरीलाई नियन्त्रणमा लिईएको र करणी गर्नेहरू भागेको प्रहरीले जानकारी दिएको छ । पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् ।
मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको प्रहरीले जनाएको छ । राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् ।
तपाइँको प्रतिक्रिया