आठ घण्टापछि खुल्यो नारायणगढ मुग्लिन सडक, लेन अनुशासन पालना गर्न आग्रह

चितवन – आज बिहानैदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सुचारु भएको छ ।
पहिरोका कारण अवरुद्ध भएको करिब आठ घण्टापछि सडक खुलेको हो । भरतपुर महानगरपालिका २९ केराबारीमा खसेको पहिरो पन्छाएर २:२० बजेबाट सडक खुलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
केराबारीमा बिहान ५:५० बजे पहिरो खस्दा नारायणगढ मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । अहिले सडक दुबैतर्फी खुलाईएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।
पहिरो पन्छाईए पनि माथिबाट पानी खसिरहेकोले सतर्कता अपनाउन उनले आग्रह गरे । यस्तै नारायणगढ मुग्लिन सडकको १८ किलोमा भने बाटो एकतर्फी सञ्चालनमा छ । १८ किलोमा पनि पूर्ण रुपमा खुलाउने तयारी भइरहेको उनले बताए ।
उनले सडक खुले पनि सहज हुन केही समय लाग्न सक्ने बताए । उनले लेन अनुशासन पालना गर्न चालकहरुलाई अग्रह गरे ।
तपाइँको प्रतिक्रिया