मधेसका सबै जिल्लामा गिरीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

धनुषा – नेपाली कांग्रेस का नेता स्वर्गीय प्रदीप गिरीको १३ औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
स्व.गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताए ।
स्व. गिरीको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उनको अस्तु आश्रममा सेलाइने छ । समाजवादी चिन्तक स्व.गिरिको १३ औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरीको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । रासस
तपाइँको प्रतिक्रिया