चितवन – लियो क्लव अफ चितवन बिरेन्द्रनगरलेे आज (बुधबार) १५औं पुस्तकालय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरेको छ । प्रहरी कार्यालयको हिरासतमा र कुनै परिवेशले प्रहरी कार्यालयमा रहने व्यक्ति शुन्य समयको सदुपयोग गरी केही नयाँ कुरा सिकुन् भन्ने मूल उद्देश्यका साथ “हिरासतमा पुस्तक परियोजना” लाई सुरुवात गर्दै बुधबार ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरीएको लियो क्लव अफ चितवन बिरेन्द्रनगरकी अध्यक्ष संगिता अर्यालले बताईन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका राप्ती नगरपालिकाका नगर प्रमुख शमसेर लामाले लियो क्लव सामाजिक कार्यमा तिव्र गतिमा अघि बढिरहेकोले यस्तो सामाजिक कार्यमा नगरपालिका पनि संगसंगै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले प्रहरी कार्यालयमा पुस्तकालय स्थापना हुदा आजको दिन ऐतिहासिक दिन भएकोले खुसी व्यक्त गर्दै समन्वयको लागि ईलाका प्रहरी कार्यालय भण्डारा सदैव तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरका संस्थापक अध्यक्ष एवंम् लायन्स् ३२५ आर का क्याबिनेट अफिसर राजकुमार कंडेल, लियो जिल्ला परिषद २३५ आर का जिल्ला उपाध्यक्ष किरण लामिछाने, कार्यक्रमका संयोजक लियो पवन तामाङ, जिल्ला परिषदका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम लियो क्लव अफ चितवन बिरेन्द्रनगरकी अध्यक्ष संगिता अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।