चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व नजिकिदै गएको भन्दै सावधानी अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।
चाडपर्वमा चोरीका घटना बढ्न सक्ने भन्दै प्रहरीले जिल्लाबासीलाई सचेत गराएको हो । चाडपर्वमा चोरी, लुटपाट तथा दुर्घटनाको जोखिम उच्च हुने भन्दै सजग रहन आग्रह गरिएको छ ।
प्रहरीले चाडपर्वमा स-परिवार नै घर बाहिर घुमफिरका लागि जाँदा सामाजिक सन्जालमा तस्बिरलगायतका सामाग्री सार्वजनिक नगर्न आग्रह गरेको छ । त्यस्ता सामाग्रीले चोरीका लागि चोरलाई सूचना मिल्नेतर्फ प्रहरीले सबैलाई सचेत गराएको छ ।
घरको काममा तथा भाडामा बस्ने व्यक्तिको परिचय खुल्ने वास्तविक विवरण राख्न, सुत्नु अघि झ्याल ढोकाको चुकुल राम्रोसँग लगाउन, सम्भव भएसम्म घर वरवर उज्यालो राख्न, घरको बारेमा जानकार व्यक्ति बारे जानकारी र हाउबाउलगायतका सूचना संकन गर्न तथा बैंक तथा वित्तिय संस्थाको कारोबार गोप्य राख पनि प्रहरीले आग्रह गरेको छ ।
गरगहना चोरले एकिन गर्न नसक्ने स्थानमा राख्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, रातको समयमा गरगहना लगाएर एक्लै नहिंड्न, गर-गहना साट्ने कार्य नगर्न, बहुमुल्य बस्तुहरु बैंक तथा वित्तिय संस्थामा राख्न, घर वरपर लुक्न मिल्ने गरी झाडी नराख्न, बाहिर जान परे छिमेकी वा प्रहरीलाईलाई खबर गरी समय-समयमा बुझ्न लगाउन, शंकास्पद व्यक्ति देखा परे टोल सुधार समिति वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि प्रहरीद्धारा जारी सूचनामा भनिएको छ ।
चोरी तथा लुटपाटका घटनाबाट जोगिन टोल तथा घरमा सम्भव भएसम्म सिसिटिभी जडान गर्न प्रहरीले जिल्लाबासीलाई सुझाएको छ । यस्तै प्रहरीले घरका सदस्यहरु छुट्टाछुट्टै कोठामा सुत्न र सुत्दा बाहिरबाट चुकुल लगाउन नमिल्ने व्यवस्था गर्न आग्रह गरिएको छ । चाडपर्वको समयमा राति १२ देखि ३ बजेसम्म चोरीको जोखिम बढी हुने भन्दै सो समयमा सावधानी अपनाउन प्रहरी सचेत गराएको छ ।
घर वा छिमेकमा ढोका, सिसा फुटेको जस्तो आवाज आए चेकजाँच गरी सावधानी अपनाउन तथा छिमेकीलाई खबर गर्न सूचनामा भनिएको छ । मोटरसाइकलको पछाडि बस्नेले गर-गहना लुट्ने हुँदा सजग रहन तथा चोरी भए सवारी नम्बर र हुलिया बारे ख्याल गर्न प्रहरीले आग्रह गरेको छ ।