चितवन – वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न संगठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् ।
घटनाको विरोधमा डिभिजन वन कार्यालय चितवनमा आज (मंगलबार) तालाबन्दी गरिएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले नेपाल वन प्राविधिक संघ, फरेष्ट टेक्निसियन एसोसियसन अफ नेपाल र जुनियर वन प्राविधिक संघको आन्दोलनका कार्यक्रमहरुमा ऐक्यबद्धता जनाउँदै आज डिभिजन वन चितवनमा तालाबन्दी गरिएको बताए ।
कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै घटनापछि जारी अनुसन्धानको विषयलाई लिएर आफुहरु आन्दोलित भएको उनले बताए । कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरानीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वनरक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन माग गरिएको छ ।
वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको विभिन्न तथ्य र प्रमाण बाहिर आएका र यसका लागि अनुसन्धानका लागि भन्दै निर्दोष कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन उनले माग गरे ।