काठमाडौं – विवेकशील साझा पार्टी पुनर्गठन हुने भएको छ । मिलन पाण्डे पक्षले छिट्टै राष्ट्रिय भेला गरेर पार्टीलाई पुनर्गठन गर्न लागेको हो ।
तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव ल्याएपछि विवेकशील साझा छिन्नभिन्न भएको थियो ।मिश्रले सुरुमा पाण्डे लगायतका असन्तुष्ट नेताहरुलाई कारबाही गरेका थिए, स्थानीय चुनावमा पार्टीले अपेक्षाकृत मत नल्याएपछि उनले पनि राजीनामा दिए ।



अहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समेत दल दर्ता हुने नहुने अलमल कायमै छ । हाल पार्टीमा गणतन्त्रवादी र राजसंस्थावादी दुई समूह रहेको भन्दै पाण्डेले भनेका छन्, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्म अनुसार अघि बढिरहेका छौं । पार्टीको स्थापनाको मर्म विपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन ।’