काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए।
अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ। ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडाँ पुगे।’
काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ। ‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्याउन केही समय लाग्न सक्छ,’ उनले भने, ‘अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यबाद छ।’ उनले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने बताए।