नारायणगढका व्यवसायीहरुलाई बैंकिङ तथा कर सम्बन्धी तालिम

एटुजेड समाचार

नारायणगढ – जेसीज सप्ताहको अवसरमा एक दिवसीय बैंकिङ तथा कर सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नारायणगढ जेसीज र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा आज (शनिबार) उक्त तालिम सम्पन्न भएको हो । उवासंघको सभाहलमा भएको कार्यक्रममा व्यवसायीहरुलाई बैंकिङ नीति तथा कर सम्बन्धी जानकारी गराईएको थियो ।

उवासंघका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम र व्यवस्थित गर्न व्यवसायीहरु बैंकिङ नीति तथा कर सम्बन्धी जानकार हुनुपर्ने बताए । उनले सरकारले लिएका बैंकिङ तथा कर सम्बन्धि नयाँ नीतिको बिषयमा पनि व्यवसायीलाई जानकार हुनुपर्ने बताए ।

कार्यक्रममा सुवर्ण बुढाथोकीले बैंकिङ नीति तथा विमन कार्कीले कर सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षद्धय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, नारायणगढ जेसीजका पूर्वाध्यक्ष सुदीप सिंह अधिकारी, अनोज जोशी, आईपिपी बासुदेव दवाडीसहित ७० जना सहभागी थिए । कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

जेसीज सप्ताहको अवसरमा नारायणगढ जेसीजले साताव्यापी कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत २४ गते उद्घाटन तथा चेतना जागरण कार्यक्रम, २५ गते वक्तृत्वकला प्रतियोगिता, २६ गते इच्छाकामना गाउँपालिमा ४ कुरिनटारस्थित जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण र २७ गते खेलकुद पत्रकार मञ्च चितवन र नारायणगढ जेसीजबीच मैत्रीपूर्ण फुटसल सम्पन्न भइसकेको छ ।

२९ गते मानव सेवा आश्रममा वृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम रहेको मूल संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । ३० गते ट्राफिक सचेतना कार्यक्रमसँगै जेसीज सप्ताह समापन हुने श्रेष्ठले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू