औद्योगिक क्षेत्र स्थापना र शक्तिखोर मझिमटार सुरुङमार्ग बारे अन्तरक्रिया

एटुजेड समाचार

चितवन – चितवनको कालिका नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर मझिमटार सुरुङ मार्ग निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरप्रमुख विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका माननीय राज्यमन्त्री उमेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले देशलाई आत्मनिर्भर बनाउन र रोजगारीको सृजना गर्न उद्योगसँगै औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्नेमा जोड दिए । चितवन क्षेत्र नं.२ का सांसद एवं प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशको समृद्धिका लागि निर्वाद रुपमा उद्योग कलकारखानाहरुलाई सञ्चालन गर्न सरकारले छुट्टै नीति बनाउनु पर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलले देशकै मध्य भागमा रहेको शक्तिखोर औद्योगिक क्षेत्रको ठूलो महत्व रहने भन्दै छिट्टै सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । उनले स्थानीयलाई रोजगारीको अवसर सृजना गरि औद्योगिक क्षेत्रको बिकास गर्न सके युवाहरु विदेशिने क्रमलाई न्युनिकरण गर्न सकिने समेत बताए ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले शक्तिखोर औद्योगिक क्षेत्रको हालसम्मको भएका कार्यप्रगतिका बारेमा आफ्ना धारणा राखेका थिए । पूर्व नगरप्रमुख खुमनारायण श्रेष्ठले आफू कालिका नगरपालिकाको नगरप्रमुख हुँदा अगाडि सारिएका योजनाहरुका बारे प्रकाश परेका थिए।

कार्यक्रममा एमालेका नेता देवी ज्ञवाली, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, कांग्रेस कालिका नगर सभापति दिपेश्वर केसी, माओबादी केन्द्रकी नेता सबिता लामा, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, उदयपुर सामुदायिक बनका अध्यक्ष केशव लामालगायतले बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू