चितवन काँग्रेसको असन्तुष्ट समूहलाई अपिल : कारबाही फिर्ता हुन्छ, थप गतिविधि नगर्नुस्

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले पार्टीभित्रको बिबाद समाधानका लागि सहजीकरणको जिम्मेवारी दिएसँगै नेताहरु सकृय भएका छन्। बिहीबार पार्टीले निर्णय गरेसँगै तयारीमा जुटेका नेताहरुले शुक्रबार औपचारिक छलफल गरेका हुन् ।

केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे सम्मिलित पहिलो दिनको छलफलले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही अविलम्ब फिर्ताका लागि जिल्ला, प्रदेश र केन्द्रमा लेखी पठाउने निर्णय गरेको छ । तीन नेताको निर्णयबारे जानकारी दिँदै केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भने, ‘गत स्थानीय तहको चुनाबका बेला बिशेष परिस्थितिका कारण चितवन काँग्रेसभित्र अन्तरद्वन्द उत्पन्न भयो । अब यो द्वन्द अन्त्यका लागि ईमान्दार नेता कार्यकर्तामाथिको कारबाही अविलम्ब फुकुवा गरौं भन्ने हाम्रो निश्कर्ष हो ।’

कारबाही फिर्ताका लागि आफुहरुले पहल थालेकोले कुनैपनि बिचार समूहको नाममा अलग गतिविधि नगर्न र पार्टीकै मुलधारमा समावेश हुन असन्तुष्ट समूहलाई अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाले आग्रह गरे । आसन्न संघ र प्रदेशको निर्वाचनमा बिरोधी शक्तिहरुसँग एक भर लड्नुपर्ने बेला पार्टीभित्रको किचलो समाधान हुन नसके समस्या खडा हुने भएकाले आफुहरु गंभिर भएर छलफलमा जुटेको कोइरालाले स्पष्ट पारे । कोइरालाले केन्द्रीय समिति बैठकमा समेत कार्वाही फिर्ताको मुद्दा उठाउदै आएका थिए ।

त्यस्तै समितिका अर्का सदस्य पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेले गत स्थानीय चुनाबदेखि भुइँकटहर समूहका नाममा हुँदै आएको अलग्गै गतिविधि अबदेखि नगर्न सम्पूर्ण असन्तुष्ट पंक्तिलाई आग्रह गरे । असन्तुष्ट साथीहरुलाई ससम्मान पार्टीमा ल्याउने बताउँदै घिमिरेले भने, ‘अब तपाइहरुले कुनै शंका गर्नुपर्दैन । हामी अन्याय हुन दिन्नौँ ।’सहजीकरण समितिले छलफललाई अझै तिब्र पारिने जानकारी दिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू