चितवन – पत्रकार दीपक आचार्य चितवन २ (ख) बाट प्रदेश सांसदको निर्वाचन लड्ने भएका छन् । आचार्य नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेका हुन्
तीन दशकदेखि पत्रकारमार्फत् राजनीति गर्दै आउनु भएका आचार्य पार्टी राजनीतिमा पनि सक्रिय छन् । आचार्यले कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य, मध्यमाञ्चल संयोजक, केन्द्रीय बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।



युनियनको लामो समयसम्म महाधिवेशन हुन नसक्दा सिर्जना भएको अन्यौलको स्थितिलाई चिर्दै चौतर्फी उनकै नेतृत्वमा दवाव सिर्जना गरेपछि महाधिवेशन भएको थियो । आचार्यकै नेतृत्वमा दवावमूलक भेला आयोजना गर्न कांग्रेस नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले आचार्यलाई सुझाएका थिए ।
आचार्य नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकट मानिन्छन् । हेटौंडामा सम्पन्न नेपाल प्रेस युनियन नवौं महाधिवेशनमा अध्यक्षको दावी गर्दै आएका आचार्य निकट शीर्ष नेताहरुले भूगोलको निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएपछि पार्टी राजनीतिमा सक्रिय रहेको बताईन्छ ।
उनी नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको दुई पटक महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य समेत रही सकेका छन् । उनले २०७६ सालमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको केन्द्रीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिमा रही काम गरेका थिए ।



आचार्य गत स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट घोषणापत्र तयारी समिति सदस्य रहेका थिए भने विभिन्न निर्वाचनमा नेतृत्वदायी भूमिका खेलेका थिए । आचार्य हाल नेपाली कांग्रेस चितवनको सल्लाहकार हुन् । आचार्य राजनीतिक परामर्शमा जुटेका छन् ।