चितवन – नेपाली कांग्रेस चितवनले स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई आह्वान गरेको छ ।जिल्ला सभापति राजेश्वर खनालले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै मुलधारको राजनीतिमा समावेश हुन र पार्टी हित विपरित कुनै पनि अभियानमा संलग्न नहुन र नगराउन आह्वान गरेका हुन् ।
‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन तहका नेता साथीहरुलाई स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन र पार्टी हित विपरित कुनै पनि अभियानमा संलग्न नहुन र नगराउन यसै विज्ञप्ति मार्फत हार्दिक आव्हान गर्दछ’, विज्ञप्तिमा भनिएको छ । संघीय र प्रादेशिक निर्वाचनलाई पार्टीभित्रको गतिविधिले पक्कै पनि सहयोग नपुग्ने तर्फ कांग्रेस चितवनले सबैलाई सचेत गराएको छ ।



लोकतान्त्रिक पार्टीमा वाद–बिवाद र विचार–विमर्श चलिरहने भन्दै स्वच्छ वैचारिक बहस र छलफलले पार्टीलाई अझ गतिशिल बनाउने विज्ञप्तिमा भनिएको छ । ‘निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनलाई पार्टीभित्रको गतिबिधिले पक्कै पनि सहयोग पुर्याउदैन । लोकतान्त्रिक पार्टीमा वाद–बिवाद र विचार–विमर्श चलिनै रहन्छ । जिवन्त पार्टीमा हुने स्वच्छ वैचारिक बहस र छलफलले पार्टीलाई अझ गतिशिल बनाउछ’, विज्ञप्तिमा भनिएको छ ।
लोकतान्त्रिक विधि र पद्धती अनुरुप पार्टीका आन्तरिक फोरमहरुमा वैचारिक वहसको प्रारम्भ गर्दै असहमतिका वीचबाट पनि सहमतिको खोजी गर्न कांग्रेस चितवनले आह्वान गरेको छ । मुलधारको राजनीतिक क्रियाकलापलाई व्यवस्थित र परिपक्क बनाउदै सहमति र एकताको वाटो अवलम्वन गरेर राष्ट्रिय संकल्प र दुरदृष्टीका साथ राजनीतिक र शासकीय स्थिरताका लागि प्रयत्न गर्न आह्वान गरिएको छ।
सहजीकरणको जिम्मा ६ नेतालाई
यसैबीच कांग्रेस चितवनले पार्टी भित्र देखिएको समस्या समाधानको सहजीकरणको जिम्मा ६ नेतालाई दिएको छ । स्रोतका क्षेत्र नम्बर १ मा पूर्व सभापति शेषनाथ अधिकारी, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी र डा. तिर्थ खनिया तथा क्षेत्र नम्बर २ र ३ मा पूर्व सभापति एवं बर्तमान केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्व सभापति रामकृष्ण घिमिरेलाई जिम्मेवारी दिईएको छ ।
नेताहरुलाई छिटो भन्दा छिटो भन्दा छिटो समस्या समाधान गर्न भनिएको छ । गत स्थानीय निर्वाचनदेखि कांग्रेस चितवनमा असन्तुष्टि देखिएको छ। केही नेताहरुके सार्वजनिक रुपमा नै असन्तुष्टि पोखिरहेका छन् भने केही कार्यकर्ताले पार्टी परित्यागको घोषणा समेत गरिसकेका छन् ।