वीरेन्द्र क्याम्पसमा बिहानमा पुस्तकालय खोल्ने सहमति, विद्यार्थीको माग सम्वोधन
चितवन – वीरेन्द्र बुहुमुखी क्याम्पसको पुस्तकालयमा विगत ४ दिनदेखि लागेको तालाबन्दी खुलेको छ । बिबिएस चौथो वर्र्षमा अध्ययनरत विद्यार्थीहरुले आइतबार बिहान पुस्तकालयको मुल भवनमा तालाबन्दी गरेका थिए ।
आज तालाबन्दी समुह र क्याम्पस प्रशासनबीच भएको वार्ता असफल भएपछि विद्यार्थीहरुको समूहले एउटा सूचना जारी गर्न आग्रह गर्दै क्याम्पस प्रमुखलाई निवेदन प्रस्तुत गरेको थियो । उक्त निवेदनमा प्रशासनले एक हप्ताभित्र बिहानबाट पुस्तकालय सञ्चालन गर्ने प्रतिवद्धतासहितको सूचना जारी गर्न अनुरोध गरिएको थियो ।
सोही निवेदनअनुसार क्याम्पस प्रशासनले सूचना जारी गरेपछि तालाबन्दी खोलिएको बिबिएस चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले जनाएका छन् । क्याम्पस प्रशासनले भदौ १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पुस्तकालय खुला रहने सूचना जारी गरेको छ । एक हप्ताभित्र माग संवोधन नभए पुनः पुस्तकालय तालाबन्दीसँगै प्रशासन पनि ठप्प पार्ने चेतावनी बिबिएस चौंथो वर्षले दिएको छ ।
पुस्तकालय बिहानको समयमा पनि खोल्नुपर्ने मागसहितको विज्ञप्ति टाँस्दै साउन २२ गते बिबिएस चौंथो वर्षले तालाबन्दी गरेको थियो । उक्त मागप्रति एक्यबद्धता जनाउँदै अधिकांश कक्षाले पुस्तकालयमा विज्ञप्ति टाँस्दै बिबिएस चौंथो वर्षले सुरु गरेको तालाबन्दीमा समर्थन जनाएका थिए । बिहानी संकायमा पढ्ने सबै विद्यार्थीहरु स्वस्फूर्तरुपमा जम्मा भएर बिहान पुस्ताकालय खुल्नुपर्ने माग राखेको हुन् ।
क्याम्पस प्रशासनले उक्त मागलाई संवोधन गर्ने भएपछि तालाबन्दी खुलाइएको बिबिएस चौंथो वर्षले जनाएको छ । स्वस्फूर्तरुपमा जम्मा भएर वीरेन्द्र क्याम्पसमा गरिएको विद्यार्थी आन्दोलन सफल भएको हो । विद्यार्थी सबै कक्षाबाट स्वस्फूर्तरुपमा आउँदा आन्दोलन शान्तपूर्णरुपमा निकै शसक्तरुपमा अघि बढेको बिबिएस चौंथो वर्षका विद्यार्थीहरुले जनाएका छन् । विद्यार्थीको स्वस्फूर्त आन्दोलनमा समर्थन जनाउँदै अनेरास्ववियु र नेविसंघले विज्ञप्ति नै जारी गरेका थिए ।
तपाइँको प्रतिक्रिया