कथाकार वसन्त पराजुलीको `मोम्चो´माथि एघारजनाको टिप्पणी

चितवन – कुनै पुस्तकमाथि समीक्षात्मक कार्यक्रम गर्नुपरे वक्ता ताेकिन्छन्- एकजना, दुईजना वा तीनजना । हदै धेरै वक्ता राखिए चारैजना पुग्लान् । तर, कथाकार वसन्त पराजुलीको दोस्रो पुस्तक `मोम्चो´ कथासङ्ग्रहमाथि शनिबार गरिएकाे अन्तरक्रियात्मक समीक्षा कार्यक्रममा वक्ता ताेकिए- एघारजना ।
युवाहरूमाझ अन्तरक्रियात्मक छलफल गरिरहेकाे चर्चित समूह लेट्स टकको आयोजनामा गैंडाकोटस्थित नारायणी रिसोर्टमा गरिएकाे ‘एक कथा : एक समीक्षक’ शीर्षककाे कार्यक्रममा पुस्तकमा रहेका ११ वटा कथामा ११ जना टिप्पणीकारले समीक्षा गरेका थिए । तिनीहरूमध्ये हरेकलाई एउटा कथामाथि १० मिनेट बाेल्न दिइएकाे थियाे ।
पुस्तकमा पहिलो कथाका रूपमा रहेकाे ‘वक्ररेखा’माथि बोल्दै सुरेन्द्र अस्तफलले याे कथाले नारीको यौनिक र जैविक आवश्यकतालाई उठान गरेको बताए ।


दोस्रो कथा ‘कुटी नम्बर २००’ माथि बालकृष्ण थपलियाले टिप्पणी राखे । यो कथामा देवघाटमा बस्ने महिलाका विविध आयामलाई पत्रकारले फरकफरक तरिकाले चित्रण गरिएको उनले बताए ।‘शंका’ कथामा गणेश श्रमणले टिप्पणी राखे । शंका घटनाप्रधान कथा भएको बताउँदै महिलाका मासिकधर्म र पुरुषसत्तावादी समाजको घटनाक्रम यसमा समेटिएको श्रमणले बताए ।शीर्षकथा ‘मोम्चो’काे चिरफार गरेकी शान्ति शर्माले कथा आफैँमा बलियाे भए पनि शीर्षकथाकाे पात्र नै निरीह भएकाेका नमिठाे मानिन् ।
अर्काे कथा ‘आधुनिक प्रेमोपहार’ उधिनेका रमेश प्रभातले कथा नारी विषयक भएकाे भन्दै कथाकारले प्रेम र याैनलाई प्रस्तुत गरेकाे बताए ।कथा ‘हठ’माथि बाेलेका आकाश पौडेलले कथामा मिठास भए पनि कथाकाे अन्त्य हतारमा गरिएकाे बताए ।‘नबिर्सेको प्रेम’मा घाेत्लिएका सूर्यप्रकाश कँडेलले कथाकार पत्रकारकाे रूपमा बढी प्रस्तुत भएकाे टिप्पणी गरे ।‘बेइमानी’ कथामाथि टिप्पणी गर्दै हेरम्बकुमार श्रेष्ठ असीमले समाजमा भइरहेका यावत बेइमानीहरूकाे सङ्ग्रह का रूपमा कथालाई प्रस्तुत गरे ।
‘दोधार’ शीर्षकको कथामाथि बोल्दै शारदा क्षेत्रीले यस कथामा महिलालाई कमजोररूपमा प्रस्तुत गरिएको बताइन् । कथा लेख्दा कथाकार भन्दा पत्रकार अगाडि किन आउँछ भनेर क्षेत्रीले प्रश्न गरिन् । महिलालाई कथामा समाचारमा जस्तै कम्जोर बनाउन नहुने उनले तर्क राखिन् । उनले नारीवाद भनेकाे नारीकाे विषयमा लेख्नु मात्रै नभई नारीलाई पुरुषसमान स्तरमा राख्नु भएकाे टिप्पणी गरिन् ।
‘बेचिएको मातृत्व’ कथा भाडामा लिइएकाे काेख(सेराेगेसी)का विषयमा लेखिएको छ । यस कथामा सविता अधिकारीले टिप्पणी राख्दै यसका फाइदा र बेफाइदा बारेमा आफ्ना धारणा राखिन् । नेपाली समाजमा सेरोगेसी स्वीकार्य छ कि छैन भन्ने विषयमा पनि छलफल चलेको थियो ।
‘जिजीविषा’ कथामाथि रमेशकुमार पौडेलले बोलेका थिए । चितवनको माडीमा बस्ने चरम आर्थिक अभाव झेलेको परिवारको एक्ली सन्तान एकजना युवती अध्ययनका लागि अमेरिका पुगेको कथा यसमा भएको पौडेलले बताए । कथामा लिभिङ टुगेदर, अनिच्छित गर्भ र महिलाको प्रजनन् अधिकारका बारेमा उल्लेख गरिएको पौडेलले बताए ।
अन्तरक्रिया कार्यक्रममा उठेका विषयमा लेखक वसन्त पराजुलीले जवाफ दिएका थिए । कार्यक्रमलाई विनोदबाबु रिजालले सहजीकरण गरेका थिए । कार्यक्रममा कल्पना वस्ताकोटी, तुलमान गुरुङ, बासुदेव सापकोटा, अविरल यात्री, दिनेश नाइसा, अलबिना सापकोटा, निर्दोष जीवन, सुमित्रा सापकोटा कँडेल, माया गुरुङ, मीना रिमाल लगायतको उपस्थिति थियो ।
तपाइँको प्रतिक्रिया