भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता

भरतपुर – भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण ठेक्का सम्झौता भएको छ । आज (शुक्रबार) भरतपुर महानगरपालिका र भवन निर्माणको ठेक्का पाएको शर्मा–सगरमाथा–सगुन जेभी बीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो ।
लागत अनुमान रकम रु ७८ करोड ११ लाखमा ३२ दशमलव ४८ प्रतिशत न्युनतम मूल्यमा शर्मा–सगरमाथा–सगुन जेभी ठेक्का पाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने छ ।
महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो ।



भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कठिन रहेको अवस्थामा नयाँ भवन बनाउन लागिएको हो ।संघीय अर्थ मन्त्रालय, वागमती प्रदेश र महानगरको संयुक्त लगानीसहित स्रोत सुनिश्चित्ता गरेर भवन निर्माण गर्न लागिएको प्रमुख दाहालले बताईन् ।
संघीय सरकारबाट रु ३५ करोड, वागमती प्रदेश सरकारबाट ठेक्का स्वीकृत रकमको ५० प्रतिशत बजेट विनियोजन गर्ने गरी स्रोत सुनिश्चित भएको छ । विकेन्द्रित सेवाहरू अब छिट्टै सुविधा सम्पन्न महानगरगरपालिकाको केन्द्रिकृत भवनबाट सहजरुपमा प्रदान हुने विश्वास महानगरपालिकाको छ ।
भवनको चैत ११ गते चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यस गरेका थिए । ६ तले भवनको जम्मा क्षेत्रफल १४ हजार १५२ वर्गमिटर बन्ने भवनमा ५० गाडी र २५० वटा मोटरसाईकल अट्न सक्ने अन्डर ग्राउण्ड पार्किङ हुनेछ ।
भवनमा दुईवटा लिफ्ट, साँस्कृतिक हल, पुस्तकालय रहने छन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष रहनेछ । भवनमा १५८ वटा साना ठूला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् ।
तपाइँको प्रतिक्रिया