चितवनमा बढ्दो सवारी दुर्घटना, मृतकको संख्या तीन वर्षयता कै उच्च

एटुजेड समाचार

चितवन – चितवनमा गत आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटना बढेको छ । आव ०७८/७९ मा सवारी दुर्घटना र यसले पुर्‍याउने भौतिक क्षति तीन वर्ष यताकै उच्च पाईएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा पाँच सय ३० वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा आठ सय १० वटा साना तथा ठूला सवारी साधन संलग्न छन् । यो संख्या पछिल्लो तीन आर्थिक वर्षयताकै उच्च हो ।

यस अघि आर्थिक वर्ष ०७६/७७ मा दुई सय ६१ वटा दुर्घटना हुँदा चार सय ३३ वटा सवारी साधन संलग्न थिए। यस्तै ०७७/७८ मा चार सय ३५ वटा दुर्घटना हुँदा छ सय ६४ सवारी साधन संलग्न रहेको ट्राफिक कार्यालयको तथाङ्क छ । आव ०७८/७९ मा सबै भन्दा बढी चार सय १० वटा मोटरसाइकल दुघटनामा परेका छन् । यस्तै एक सय १२ वटा जिप/कार तथा ५७ वटा बस दुर्घटनामा परेका छन् ।

आव ०७८/७९ मा सवारी साधन दुर्घटनामा परी एक सय ४० जनाको मृत्‍यु भएको छ । यो संख्या पछिल्लो तीन वर्षकै उच्च हो । यस अघि आव ०७६७७ मा एक सय ७ तथा ०७७/७८ मा एक सय २८ जनाको ज्यान गएको थियो । यस्तै आव ०७८/७९ मा दुर्घटनामा परी दुई सय ६५ जना गम्भीर घाइते भएका छन् भने सात सय ६ जना सामान्य घाइते भएका छन् । यस्तै सोही अवधिमा दुर्घटनामा ३४ वटा पशु चौपायाको पनि मृत्‍यु भएको छ ।

ट्राफिक प्रहरीले गत वर्ष सवारी दुर्घटना न्युनिकरण सम्बन्धी बिभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरेको थियो । सवारी दुर्घटना न्युनिकरणका लागि विद्यालयमा आधारित सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । ट्राफिक प्रहरीले चार हजार भन्दा बढी विद्यार्थीलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएको थियो ।

अहिले पनि ट्राफिक प्रहरीले मासिक चार वटा भन्दा बढी दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रम गरिरहेको छ । ट्राफिक प्रहरीले सवारी चालकदेखि नेपाली सेनासम्मलाई प्रशिक्षण दिइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणमा जोड दिए पनि दुर्घटना र मृतकको दर भने उकालो लाग्दै गएको देखिन्छ ।

सचेतनामुलक कार्यक्रममा जोड दिँदा दिँदै पनि चालकको लापरबाहीका कारण दुर्घटना बढेको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले बताए । मानविय लापरबाहीको कारण दुर्घटना घट्नुको साटो बढ्दै गएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीको दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रम प्रभावकारी नभएको हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘नभएको त भन्नै मिल्दैन । झन हामीले कार्यक्रम बढाएका छौं । महिनामा चार वटा कार्यक्रम गरेका छौं । स्कुल स्कुलमा कार्यक्रम गरेर चार हजार भन्दा बढी विद्यार्थीलाई दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएका छौं । चालकलाई प्रशिक्षण दिएका छौं । अहिले त झन सेना र प्रहरीलाई पनि हामी आफु पनि सचेत हुनुपर्छ भनेर प्रशिक्षण दिईरहेका छौं । तर मानविय लापरबाही दुर्घटनाको मुख्य कारण हो ।’

चालकको हेल्चक्र्याई र लापरबाहीका कारण दुर्घटना घट्न नसकेको उनले बताए । चालक आँफै सचेत नभएसम्म दुर्घटना न्युनिकरण नहुने उनको भनाइ छ । ‘जनचेतनाका कार्यक्रम झन हामीले बढाउँदै लगेका छौं तर दुर्घटना घट्न सकेको छैन । यो भनेको लापरबाही हो, उनले भने, ‘चालक सचेत नभएसम्म ट्राफिक प्रहरीले चाहेर मात्रै घटाउन सकिदैन । उनीहरु एकछिन बसेर सुन्छन् अनी निस्किएपछि फेरी उही लापरबाही हुन्छ ।’

चालकहरुको अटेरीपनाले गर्दा पनि दुर्घटना घट्न नसकेको उनको भनाइ छ । ‘हामीले बिस्तारै जानुस् भन्छौं । लामा दुरीका साधनमा दुई जना चालक राख्नुपर्छ भन्छौं । चेकजाँच गर्दा म हुँ भनेर निस्किन्छन् तर हुँदैनन् । हामीले जति भने पनि लाग्दैन, टेर्दैनन्’, उनले भने ।

चितवनबाटै सवारी चालक अनुमति पत्र वितरण सुरु भए दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उनको बुझाई छ । धेरै चालकसँग लाइसेन्स नहुँदा प्रहरी देखेपछि डराएर आत्तिने र त्यसले झन दुर्घटनाको जोखिम बढ्ने उनको भनाइ छ । ‘सवारी छ, चलाउन पनि जान्छन् तर लाइसेन्स छैन । यस्तोमा प्रहरीदेखेपछि हतोत्साही भएर भाग्न खोज्दा झन दुर्घटना हुन सक्छ’, उनले भने ।

ज्यान गुमाउने मध्ये सय भन्दा बढी पुरुष

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ज्यान गुमाउने मध्ये एक सय भन्दा बढी पुरुष रहेका छन् । सो अवधिमा दुर्घटनामा एक सय ४० जनाको मृत्‍यु भएको छ । जसमा पुरुष मात्रै एक सय ६ जना रहेका छन् ।

दुर्घटनामा परी २२ जना महिला र ११ बालकले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । यस्तै ज्यान गुमाउने मध्ये एक बालिका रहेकी छन् ।

कुन महिनामा कतिको ज्यान गयो ?

गत आर्थिक वर्षको श्रावणमा दुर्घटनामा परी ११ जनाको ज्यान गएको ट्राफिकको तथ्याङ्क छ । यस्तै भाद्रमा सात, असोजमा २०, कार्तिकमा १०, मंसिरमा १२, पौषमा ११ र माघमा १२ जनाको दुर्घटनामा परी ज्यान गएको छ ।

यस्तै फाल्गुनमा १३, चैत्रमा १६, बैशाखमा आठ, जेष्ठमा १० र असारमा १० जनाको ज्यान गएको छ । गत आर्थिक वर्षमा सबै भन्दा बढी असोजमा २० जनाको ज्यान गएको तथ्याङ्कमा उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु