चितवनमा एरोटेक इन्टरनेशनल, एयरहोस्टेज पढ्न काठमाडौं जान नपर्ने

चितवन – चितवनमा एरोटेक इन्टरनेशनल स्कुल सञ्चालनमा आएको छ । एरोटेकको आज (शनिबार) एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे ।
भरतपुर १० हाकिमचोकस्थित एरोटेक केही समय अघि नै सञ्चालनमा आए पनि विधिवत रुपमा आज उद्घाटन गरिएको हो । एरोटेकको उद्घाटन गर्दै खनालले चितवनमै एयरहोस्टेज सम्बन्धी अध्यापन सुरु भएकोमा खुशी व्यक्त गरे ।
उनले सम्पूर्ण प्रकृया पुरा गरेर अघि बढ्न सञ्चालनहरुलाई आग्रह गरे । यस्तै उनले एरोटेकलाई आवश्यक परेको खण्डमा वडाबाट हुने सहयोगको प्रतिवद्धता जनाए ।
एभिएसन सम्बन्धी अध्ययनका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि एरोटेक सञ्चालनमा ल्याईएको प्रवन्ध निर्देशक सुमन भट्टले जानकारी दिए । उनले कतार एयरवेजमा दश वर्षको अनुभव संगालेर चितवनमा एभिएसन स्कुल सञ्चालन गरिएको बताए ।
नेपालमा विमानस्थल विस्तार, नयाँ विमानस्थल निर्माण र एयरलाइन्सको संख्या बढ्दै गएकोले यस क्षेत्रमा भविष्य राम्रो रहेको उनले बताए । विश्वभर नै एयरहोस्टेजको माग उच्च रहेकोले अध्ययन पश्चात काम सुनिश्चित हुने उनको भनाइ छ ।
आन्तरिक र बाह्य उडान गर्ने एयरलाइन्सहरुसँग सहकार्य गरेर विद्यार्थीहरुलाई अध्यापन गराइने उनले जानकारी दिए । कक्षा १२ उतिर्ण विद्यार्थीहरुले यसमा अध्ययन गर्न सक्ने उनले बताए ।
तपाइँको प्रतिक्रिया