सल्यान – सल्यानमा १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कारको आरोपमा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका वडा नं. २ का २२ वर्षीय रमेश भण्डारी र १९ वर्षीय डिल्ली बस्नेत रहेका छन् । रमेश र डिल्लीले गत असार २२ गते राति सल्यान जिल्लाको कुमाख गाँउपालिकास्थित ठूली आमाको घरमा सुत्न गएकी १४ वर्षीया बालिकालाई मध्यरातमा बलात्कारको उजुरीको आधारमा पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।
पीडितकी दिदी साथीको घरमा गएको मौका छोपी ढोका खुल्लै रहेको समयमा राति ११ बजेतिर उनीहरू घरभित्र छिरेर मुख कपडाले छोपी जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको डिएसपी खड्काले जानकारी दिए।
घटनापछि बालिकाले हारगुहार माग्दा ठूली आमा ब्युँझिएको र उनैले बिहीबार बिहान साढे २ बजे प्रहरीलाई घटनाबारे खबर गरेका थिए । डिएसपी खड्काका अनुसार बलात्कारमा संलग्न युवाहरू पीडित बालिकाकी दिदीका साथीहरू रहेको खुल्न आएको छ।