चितवन – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि हातपातको प्रयासको स्वास्थ्य क्षेत्रका संघ संगठनले विरोध गरेका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र नेपाल चिकित्सक संघ चितवनले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका हुन् । नियमित काममा रहेको अवस्थामा कार्यकक्षमा नै अस्पतालका निर्देशकमाथि भएको हिंस्रक घटनाले स्वास्थ्यकर्मीहरुलाई त्रसित र असुरक्षित महसुस गराएको महासंघको विज्ञप्तिमा भनिएको छ ।



महासंघले घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी एनको (पहिलो संशोधन) अध्यादेश २०७९ अनुसार राजनीतिक पूर्वाग्रह नराखी कारबाही गर्न गृह प्रशासन तथा स्वास्थ्य तथा जनसंख्यासँग माग गरेको छ । दोषीलाई कारबाही नभए देशव्यापी आन्दोलन गर्न वाध्य हुने महासंघको चेतावनी छ ।
यस्तै चिकित्सक संघले डा. गौतममाथि भएको हमलाको प्रयासप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । अस्पताल हाता भित्र दिनदहाडै हमलाको प्रयास हुनु निन्दनिय र आपत्तिजनक भएको संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
संघले घटनाको छानबिन गरी दोषीउपर कडा भन्दा कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । यस्ता घटनामा तुरुन्त प्रभावकारी नियन्त्रण हुँदा मात्र आम नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चितता हुने विज्ञप्तिमा भनिएको छ । घटनाको दोषीलाई कारबाही नभएको आन्दोलनमा उत्रिन वाध्य हुने संघको चेतावनी छ ।



बिहीबार घाँटीको मेजर अप्रेशन सकेर कार्यकक्षमा फर्किएका डा. गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेका थिए । उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएका थिए । तर आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा. गौतमले बताए ।