चितवन – चितवनमा ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान सुरु गरेको छ ।
केही दिनदेखि सवारी साधनमा लेखिएको सायरी, गजल, कविता तथा भनाइहरु हटाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै सवारी साधनमा झुण्डाईएका झल्लरहरु पनि हटाउन थालिएको ट्राफिक कार्यालयले जनाएको छ ।


दुर्घटना न्युनिकरण अभियान अन्तर्गत नै त्यस्ता सायरी, गजल, कविता तथा झल्लरहरु हटाउन थालिएको चितवनका ट्राफिक प्रमुख, प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । सवारी साधनमा लेखिएका सायरी, गजल, कविताले दुर्घटनाको जोखिम बढ्ने भएकोले हटाउन थालिएको उनको भनाइ छ ।
‘दुर्घटना न्युनिकरण अभियान अन्तर्गत नै हामीले सवारी साधनमा लेखिएका सायरी, गजल, कविताहरु हटाउन थालेका छौं, ‘यसले दुर्घटनाको जोखिम बढ्छ । अर्को सवारी चालकले तथा पैदल यात्रुले ति लेखेका चिजहरु पढ्न खोज्छन् । जसले ध्यान त्यता जान्छ र दुर्घटना हुन सक्छ ।’ कतिपय त्यस्ता लेखहरु अपाच्य तथा तथा सामाजमा विकृत्ति ल्याउने किसिमका हुने उनको भनाइ छ ।
यस्तै सवारी साधनको क्याबिन सजाउन राखिने झल्लरका कारण पनि दुर्घटना बढ्ने उनले बताए । बजार तथा राजमार्गसँगै जिल्लाका सबै क्षेत्रमा त्यस्ता सायरी, कविता तथा झल्लर हटाउने काम भइरहेको उनले बताए । आगामी दिनमा यसलाई थप कडाईका साथ अघि बढाउने उनले बताए । उनले सवारी साधनमा सायरी, गजल, कविता नलेख्न तथा झल्लर नझुण्डाउन आग्रह पनि गरे ।