भरतपुर – अन्तरविद्यालय पौडी प्रतियोगितामा भरतपुरको अंकुरम एकेडेमी प्रथम भएको छ । निजि विद्यालयहरुको छाता संगठन (बेस) ले आयोजना गरेको प्रतियोगितामा सात पदक जित्दै अंकुरम प्रथम भएको हो ।
अंकुरमले तीन स्वर्ण, दुई रजत र एक कास्य पदक हात पार्यो । २५ मिटर पौडीमा छात्रातर्फ अंकुरम एकेडेमीका डेजी गुरुङले प्रथम स्थान हासिल गरिन् । अंकुरम एकेडेमीकै कल्की काफ्ले द्धितीय र बालकुमारी इंग्लिस स्कुलकी सुरभी श्रेष्ठ तृतीय हुन सफल भए । यस्तै छात्रतर्फ अंकुरमका कुनाल श्रेष्ठ प्रथम, ग्लोरियस एकेडेमीका पवन गुरुगं द्धितिय र प्रेरणा बोडिगं स्कुलका समर श्रेष्ठले तृतीय भए ।


यस्तै साढे १२ मिटरमा छात्रातर्फ भविता ढकाल प्रथम, आर्याना डियो द्धितीय र आर्शिया खनाल तृतीय भए । यि तिनैजना अंकुरम एकेडेमीका विद्यार्थी हुन् । छात्रतर्फ नवयुग इग्लिस स्कुलका रोचक नेपाली प्रथम, अंकुरम एकेडेमीका प्रमित अर्याल द्धितिय, गुरुकुल सेकेन्डरी स्कुलका आयुस भुजेलले तृतीय स्थान हात पारे ।
१ देखि ५ सम्मका विद्यार्थीले साढे १२ मिटर र ६ देखि १० कक्षाका विद्यार्थीले २५ मिटरमा स्पर्धा गरेका थिए । प्रतियोगितामा २५ विद्यालयका ७२ जना विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरुलाई जीवनउपयोगी सीप सिकाउने उद्धे्रश्यका साथ बेसले कार्यक्रम आयोजना गरेको हो । जसलाई अंकुरमले सहयोग गरेको थियो ।
अंकुरममा नै भएको कार्यक्रमको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितीका संयोजक परमेश्वर खनाल प्रमुख अतिथि रहेका थिए । उनले हरेक विषय बस्तुमा प्रयोगात्मक रुपमै फिल्डमै विद्यार्थी लगेर व्यवहारिक ज्ञान दिदैं आएको अंकुरमको प्रसंसा गरे । अङ्कुरमको पढाउने शैली र विभिन्न समयमा गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक र शारिरिक विकासमा थप मद्धत पुग्ने उनको भनाई थियो ।
बेसका अध्यक्ष इन्दे्रस शाहको अध्यक्षतमा भएको उक्त कार्यक्रममा मेट्रो प्याब्सन भरतपुर महानगरपालिकाको अध्यक्ष लेखनाथ खनाल, अंकुरमका कार्यकारी निर्देशक नवराज पौडेल लगायतको उपस्थिती रहेको थियो ।