सुकुम्बासीलाई लालपूर्जा दिने कामबारे मेयर रेनु दाहालको चासो

एटुजेड समाचार

चितवन – भूमिहिनलाई जग्गा दिने काम वर्तमान अवस्थाबारे महानगर प्रमुख रेनु दाहालको चासो दिनु भएको छ ।
भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीसँग चासो राख्नु भएको हो ।

आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरुलाई ब्रिफिङ गर्नुभएको थियो । आयोगका अध्यक्ष तिमल्सिनाले केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग पहल थालिएको जानकारी दिनुभयो । आयोगले अहिले ड्रोन र टोटल स्टेश्नको कमी भएको बताएको छ ।

यो यन्त्र उपकरण खरिद गर्न आयोगले जिल्लाका ७ वटा स्थानीय निकायसँग बजेटको माग पनि गरेको छ ।भरतपुर महानगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडि महानगरभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, निस्सा दिने काम सम्पन्न गरिसकेको छ ।

समन्वय समितिको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले संघिय निर्वाचन अघि भूमिहिनलाई लालपुर्जा दिने गरी कार्य अघि बढाउन आयोग र वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।निर्वाचन आचारसंहिताका कारण यो काम केहीसम्म रोकिन पुगेकाले पहिले जुन गतिमा काम भएको थियो, त्यही गतिमा फेरि काम बढाउनु पर्ने मेयर दाहालको भनाई थियो ।निर्वाचनले ब्रेक लागेको भए फेरि निरन्तरतामा गई तीब्र गतिमा जग्गा दिने काममा लाग्न मेयर दाहालले सरोकारावालाई अनुरोध गर्नुभयो ।

‘निर्वाचनमा तपाई हामीले भूमिहिनलाई जग्गा दिने प्रतिवद्धता जनाएका छौ, उहाँले भन्नुभयो,‘यो काममा हातेमालो गरेर सुकुम्बासीलाई जग्गा दिने काममा केन्द्रीत हुन आग्रह गर्छु । वडा अध्यक्षहरुले आयोगसँग समन्वय गरी आफ्नो बाचा पुरा गर्नुहोस् ।’मेयर दाहालले विगतमा भरतपुर २ का भूमिहिन दलितलाई लालपुर्जा दिने काम भईसकेको र अब असार मसान्तभित्र भूमिहिन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने जानकारी दिनुभयो ।पाँच वर्षभित्र भरतपुरमा अहिले लगत संकलन भएका सुकुम्बासीले लालपुर्जा पाउने पनि दाबी गर्नुभयो ।
भरतपुर महानगरले संकलन गरेको तथ्याङक अनुसार महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु