चितवन – भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक गिरीराज उपाध्यायमाथि हातपातको चौतर्फी विरोध भएको छ ।
शुक्रबार कक्षामा अध्यापनको क्रममा उपाध्यायमाथि भएको हातपात र दुर्व्यहारको बिभिन्न संघ संगठनले विरोध गरेको हो । उक्त घटनाक्को विरोधमा प्राध्यापक र विद्यार्थी आवद्ध बिभिन्न संगठनले विज्ञप्ति नै निकालेका छन् ।
केदारनाथ बराल अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, सागर अधिकारी केन्द्रीय सदस्य रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, रामकृष्ण खनाल अध्यक्ष रहेको नेपाल राष्ट्रिय प्राध्यापक संगठन, ओम प्रकाश पोखरेल अध्यक्ष रहेको प्रजातन्त्रवादी प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । यस्तै पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी क्याम्पस ईकाईले पनि विज्ञप्तिमार्फत ध्यानाकर्षण जनाएको छ ।
चार संगठनको संयुक्त प्रेस विज्ञप्तिमा आफ्नो जिम्मेवारी बहन गरिरहेका कर्तव्यनिष्ठ प्राध्यापकप्रति गरिने यस प्रकारको गैह् जिम्मेवारीपूर्ण व्यवहार र हर्कतले मनोबलमा नकारात्मक असर परेको उल्लेख छ । घटनाको छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न क्यामपस प्रशासनसँग माग गरिएको छ । कार्यस्थललाई सुरक्षित गरी निर्वाध रुपमा काम गर्ने वातावरण सृजना गर्न पनि माग गरिएको छ ।
यस्तै पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी क्याम्पस ईकाईका अध्यक्ष नारायणप्रसाद रेग्मीद्धारा जारी विज्ञप्तिमा कर्तव्यनिष्ठ प्राध्यापकप्रति गरिने यस प्रकारको हर्कतले मनोबलमा नकारात्मक असर परेको भनिएको छ । संघले घटनाको निम्न्दा गर्दै यथाशिघ्र छानबिन गरु दोषीलाई कारबाही गर्न माग गरेको छ ।
शुक्रबार कक्षा कोठामा अध्यापन गराईरहेको अवस्थामा बाहिर निकालेर उपाध्यायमाथि हातपात भएको थियो । उक्त घटनाको विद्यार्थी संगठनहरुले पनि विरोध गरेका छन् । आज बिहान आन्दोलित विद्यार्थीहरुले क्याम्पस प्रमुख मणिराज महतोको कार्यकक्षको कुर्चीमा आगजनी गरेका थिए ।
प्राध्यापकमाथि हातपात तथा दुव्यवहार हुँदा समेत मौन रहेको भन्दै उनीहरुले क्याम्पस प्रमुखको राजीनामा समेत मागेका छन् । युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले क्याम्पसका प्राध्यापकमाथि हातपात एवं दुव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।