चितवन – पत्रकार तथा कथाकार वसन्त पराजुलीको मोम्चो कथासंग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ । गत वर्षको मंसिरमा पहिलो संस्करण प्रकाशन भएको सात महिना मै दोस्रो संस्करण बजारमा आएको कृति प्रकाशन संस्था भूँडि पुराण प्रकाशन प्रालिका प्रवन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो ।
नेपाली साहित्यका पाठकहरु माझ मोम्चो कथासंग्रहको माग वढ्दो भएकाले यसलाई दोस्रो संस्करण छाप्नुपर्ने अवस्था भएको प्रवन्ध निर्देशक पराजुलीले बताउनुभयो । समालोचक प्रा.डा लक्ष्मण प्रसाद गौतमले मोम्चो कथा संग्रह छोटो समयमै दोस्रो संस्करण आउनुमा अहिले साहित्यमा पाठक छैनन् र पुस्तक बिक्दैनन् भन्नेहरूका लागि एउटा मीठो जवाफ दिएको बताउनुभयो ।
“चेपाङ समुदायको जीवनशैली र संवेदनाका साथै अन्य विविध यथार्थलाई विषयवस्तु बनाइएको यो कथाकृति आजका नेपाली कथाका प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने कृतिसमेत हो”, उहाँले भन्नुभयो ।वरिष्ठ साहित्यकार तथा गोरखापत्रका पूर्व सम्पादक श्रीओम श्रेष्ठ रोदनले पनि मोम्चो कथा संग्रह पाठकहरुको रुचिको कृति भएको बताउनुभयो ।
“
कथामा नयाँ विषय वस्तुआयो भने र नयाँ शैली प्रयोग भयो भने पाठकले कृति पठ्छन् भन्ने कुरा मोम्चोको दोस्रो प्रकाशनले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो ।मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो भने अन्य प्राय कथाले महिला हिँसा, हाडनाता करणी लगाएतका विषयहरुमा उठान गरेको छ ।
मोम्चो कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली दुई वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान विद्या मार्फत साहित्यमा प्रवेश गरेका हुन् । नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासग सम्बन्धित नारीवादी विषय उठान गरिएको कथासङ्ग्रह हो मोम्चो । कृतिमा समसामाहिक विषय विस्तुमा केन्द्रित ११ वटा कथाहरु समेटिएका छन् ।

