भरतपुर महानगर सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ : मेयर रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनद्धारा भरतपुरमा नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् ।
विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्म अनुसार सबैलाई समान दृष्टिकोणले हेर्ने उनको भनाइ थियो । ‘पहिचानको अधिकारका लागि लडेर आएका हौं, उनले भनिन्, ‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’



मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व सम्हाली रहनु भएको बताईन् ।‘उपराष्ट्रपति नन्द बहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ, उनले भनिन्, ‘सभामुख ओनसरी घर्ती हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’
मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
यसैबीच मेयर दाहालले भरतपुर १ मा रहेको नेपाल मगर संघ चितवन शाखाको सभाहलको उद्घाटन गरिन् । हल निर्माणका लागि महानगरले पाँच लाख साठी हजार सहयोग प्रदान गरेको थियो । सो अवसरमा मेयर दाहालले मगर संघको कार्यालयको थप स्तरोन्नतीका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता गरिन् ।
तपाइँको प्रतिक्रिया