मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

एटुजेड समाचार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौती थपिन गई हैजालगायत संक्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिएका छन् ।

अहिलेसम्म काठमाडौं, उपत्यकामा हैजाका १७ बिरामी भेटिएका छन् । विपद् तथा महामारीलगायत प्रतिकार्यका लागि तयार एवं सर्तक रहन, स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकताअनुसार शैय्याको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई उनले निर्देशन दिएका छन् ।अस्पतालबाट आवश्यक सूचना संकलन तथा निगरानी गरी तत्काल उपचारमा संलग्न हुनुपर्ने भएकाले साधनस्रोतलाई अधिकतम उपयोग गरेर जनधनको क्षति न्यूनीकरण हुने गरी संयन्त्र तथा कार्ययोजना तयार गरी कार्य गर्न पनि निर्देशनमा उल्लेख छ । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु