चितवनमा २१ गैंडा मार्ने खुंखार शिकारी: १७ वटा मारेपछि पक्राउ, जेलबाट छुटेर थप चार शिकार
चितवन – २१ गैंडा मारेको आरोप लागेका बमबहादुर प्रजा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रजालाई बिहीबार राती धादिङको मलेखुबाट पक्राउ गरेको हो ।
सीआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई बिहीबार राती पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको बताए । प्रजामाथि पछिल्लो पटक चार वटा गैंडा मारेको आरोप लागेको छ ।
२०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २० र २२ वर्षको माउ गैंडा र ३ वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै गैंडाको खाग झिकिएको अवस्थामा भेटिएको थियो ।
त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनमा थप दुई गैंडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चार वटै गैंडाको शिकार बमबहादुर प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको थियो ।
१७ वटा गैंडा मारेपछि बमबहादुर २०६० सालमा पक्राउ परेका थिए । त्यति बेला उनले १७ वटा गैंडा मारेको स्वीकारेका थिए । जेलपछि छुटेपछि उनी पुन गैंडा शिकार र खाग तस्करीमा संलग्न भएका हुन् ।
तपाइँको प्रतिक्रिया