चितवन – चालू आर्थिक बर्षमा चितवनबाट १२ हजार भन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् । चालु आवको साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा चितवनबाट १२ हजार ६६१ जनाले श्रम स्वीकृती लिएका हुन् ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाको तथ्याङ्क अनुसार सोही अवधिमा नेपालभरबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिनेको संख्या पाँच लाख ६७ हजार ८३९ पुगेको छ । परियोजनाले आज (शुक्रबार) भरतपुरमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारीका लागि जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएका २ वटा कार्यपत्रले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।



परियोजनाका अनुसार गत आर्थिक वर्षमा चितवनबाट चार हजार १ सय १६ जनाले श्रम स्वीकृती लिएका थिए । यस वर्ष उक्त संख्या तीन गुणा भन्दा बढीले बढेको हो ।
त्यस्तै नेपालबाट श्रम स्वीकृती लिएर विदेश जानेको संख्या ५८ लाख रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । गत फागुनयता दैनिक औषत एक हजार ७०० जना वैदेशिक रोजगारीमा जाने गरेका छन् । श्रम स्वीकृती बिना अबैधानिक तरिकाबाट वैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेखिय रहेको छ ।
यस्तै वैदेशिक रोजगारीमा गएका मध्ये १४ प्रतिशत बागमती प्रदेशका रहेको सामी परियोजनाका संयोजक तथा बागमती प्रदेशका कार्यक्रम संयोजक तरुण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार हाल नेपालमा दैनिक तीनदेखि पाँच जनाको शव भित्रीने गरेको छ ।



यसैगरी प्रत्येक बर्ष करिब चार लाख ५० हजार ब्यक्तिहरु श्रमको खोजीमा श्रम बजारमा जाने गरेको उनले बताए । नेपालमा सीमित रोजगारी र गरिबीका कारण वैदेशिक रोजगार प्रती नेपालीहरुको आकर्षण बढदो छ । देश भित्र पर्याप्त रोजगारीको अबसर उपलब्ध नभएकोले युवाहरु अल्पकालीन रुपमा वैदेशिक रोजगारीको बाटो अपनाई रहेको संयोजक अधिकारीको भनाइ छ ।
गरीबी घटे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने नघटेको तथ्याङ्कले देखाएको छ । नेपालका ५६ प्रतिशत घर परिवार रेमिटान्ससँग जोडिएका छन् ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले रेमिटान्सको मात्रै भर परेर बस्ने अवस्था नरहेको बताए । उनले सबै नागरिकहरु स्वआत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिए । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको अवस्था दयनीय रहेको भन्दै सामी परियोजनालाई सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो ।
वैदेशिक रोजगारीको पाटोलाइ सुरक्षित र भरर्पर्दो बनाउन भन्दै सामी परियोजनाले स्विस सरकार र नेपाल सरकारको सहयोगमा बिगत १२ बर्ष देखि वैदेशिक रोजगारमा जाने युवा युवती लक्षित कार्यक्रमहरु गर्दै आइरहेको छ । परियोजनाले हाल चितवनका ४ वटा पालिकाहरुमा कार्यक्रम सञ्चालन । भरतपुर महानगरपालिका, रत्ननगर र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा परियोजनाले काम गर्दै आइरहेको छ ।
परियोजनाले पहिलो चरणमा दुई जिल्ला, दोस्रो चरणमा १८ र तेस्रो चरणमा ३९ जिल्लाका एक सय ५६ स्थानीय तहमा काम गरिरहेको छ । प्रदेश १ का आठ, मधेस प्रदेश र बागमती प्रदेशका समान आठ-आठ जिल्लामा परियोजना लागू छ । यस्तै गण्डकी प्रदेशका छ, लुम्बिनीका सात, कर्णाली र सुदूरपश्चिमका समान एक-एक जिल्लामा पनि सामी परियोजनाले काम गरिरहेको छ ।