प्रदिप र रेणुको प्रेममा वर्गिय विभेद तगारो

चितवन – वर्गिय विभेदको मुद्धालाई उठान गरेको चलचित्र ‘प्रकाश’को दोस्रो गीत ‘जोर मैना’ सार्वजनिक गरिएको छ । चलचित्रका दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदिप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले बर्गिय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।
बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाकै परिवेशमा छायाँकन गरिएको गीतमा प्रदिप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।
देशमा ठुला ठुला क्रान्ती र परिवर्तनहरु भएपनि समाजमा वर्गिय विभेद कायमै रहेको वर्तामान अवस्थालाई गीतले दुई पात्र बिचको प्रेमका मार्फत टपक्कै टिपेर प्रस्तुत गरेको छ । समाजका बिभिन्न तहहरुमा जस्तै प्रेममा पनि वर्गिय असमानताको असर कायम रहेको गीतले देखाएको छ । गीतको बिचमा युवतिको बुबाले बोलेको – ‘सपना देख्न सजिलो छ । तिनका हातमा न कुनै सिप छ, न जागिर, त्यो सँग बिहे गरिस भने त्यही समाजले तलाई भोलि हेला गर्नेछ ।’ भन्ने सम्बादले समाजमा जातिय भन्दा पनि वर्गिय विभेदको जरो कुन हदसम्म गडेर रहेको छ भन्ने स्पष्ट पार्छ ।



दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
तपाइँको प्रतिक्रिया