चितवन मानव बेचबिखनको ट्रान्जिट पोइन्ट बनेको भन्दै चिन्ता व्यक्त
चितवन – चितवन मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्र (ट्रान्जिट पोइन्ट) बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । आज (बिहीबार) भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल संरक्षण तथा मानव बेचबिखनविरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रले चितवनमा मानव बेचबिखन तथा ओसारपसारको मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ ।
विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा विदेशमा लगेर मानव बेचिने क्रम डरलाग्दो अवस्थामा रहेको शक्ति समूह व्यवस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाले बताए । अधिवक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल संरक्षणको अवस्था निकै दयनीय र भयावह रहेको छ ।
नेपालमा रहेका चार सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको उनले बताए ।
विदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांक रहेको उनले बताए । उनका अनुसार प्रति एक सयमा एक जना पुरुषको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अबैध रुपमा सन्चालनमा आएका बालगृहहरुलाइ बन्द गर्ने तयारी पनि गरिरहेको छ ।
भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारले मानव-मानवलाई दु:ख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै गएको प्रति दुख व्यक्त गरे । उप-प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै सहयोग गर्न सबैमा आग्रह गरे ।
कार्यक्रममा बोल्दै भरतपुर महानगर स्वास्थ तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलले बिभिन्न बाहनामा मानव बेचबिखन हुने गरेको बताईन् । भरतपुर महानगरले बिगतका बर्ष देखि नै चितवन बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुनर्स्थापना गर्दै आइरहेको छ ।
नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन् । ति मध्य चितवनमा मात्रै ७४ प्रतिशत बालगृहहरु सन्चालनमा रहेका छन् । विदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।
भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले मानव बेचबिखन तथा ओसारपसारको ट्रान्जिट पोइन्ट चितवन बन्दै गएको कुरा सुन्दा निकै दु:ख लागेको बताउदै यसलाई तत्काल रोक्न सबै लाग्नुको विकल्प नभएको बताए ।
तपाइँको प्रतिक्रिया