सप्तकोसीमा पानीको बहाव बढ्यो, डुंगा चलाउन प्रतिबन्ध
काठमाडौं – सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले नदीमा डुंगा चलाउन पूर्ण रूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न समेत प्रतिबन्ध लगाइएकोे छ ।
प्रशासनले कोसीको बाँध तथा स्पर र नोज अनुगमन कार्यलाई निरन्तरता दिएको छ । सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ । यद्यपि, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा नरहेको जनाएको छ ।कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमबारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता बढ्दो क्रममा छ । पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोसीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
पछिल्लो मापनानुसार सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख २६ हजार ५०५ क्युसेक रहेको छ । ब्यारेजका १६ ढोका खोलिएका छन् ।नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्परहरू सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले कहीँ कतै कटानको खबर नरहेको जानकारी दिए । प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
तपाइँको प्रतिक्रिया