चितवन – भरतपुरमा विपद व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।
बर्खा सुरु भएसँगै सम्भावित विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि आज (सोमबार) बाट तालिम सुरु भएको हो । सशस्त्र प्रहरी बल, गढिमाइ बाहिनी मुख्यालय र १७ नम्बर गढ हेड क्वाटर चितवनद्वारा आयोजित अभिमुखिकरण तालिममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा देखिएको समस्याको बारेमा सहजीकरण गरिनेछ ।


विपदको जोखिममा रहेका भरतपुरका १२ वटा वडाहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । भरतपुरका वडा नम्बर १,३,४,१६,१७,१८,२२,२३,२६,२७,२८ र २९ विपदको जोखिममा छन् । यि वडाका ३६ जना जनप्रतिनिधिहरु तालिममा सहभागी छन् । तालिममा स्काउटका ५ प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ ।
तालिमको उद्वघाटन कार्यक्रममा बोल्दै भरतपुर महानगर उप-प्रमुख चित्रसेन अधिकारीले विपदको लागि महानगरले छुट्टै बजेटको व्यवस्था गरेको बताए । प्रत्येक वडा वडामा विपद सम्बन्धी काम गर्नको लागि वडा स्तरीय बजेट पनि छुट्टिसकेको उनले जानकारी दिए ।
विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सबैको साथ र सहयोग भए मात्रै सहज हुने उनको भनाइ थियो । विपद जोखिम न्यूनिकरणबाट स्थानीय सामाजिक, आर्थिक र वातावरणीय अवस्थामा सुधार ल्याउन सकिने पनि उनले बताए । विपद् अनुसन्धान, प्रविधिको विकास, मानव संसाधनको विकास, पूर्व सूचना प्रणाली, जलवायु परिवर्तन अनुकुलन तथा विपद न्यूनीकरण योजनाको कार्यान्वयनमा अधिकतम स्रोत परिचालन गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले महानगरका हरेक वडामा कम्तीमा ५ जनाको आधारभूत जनशक्ति तयार गर्ने गरि काम भइ रहेको पनि बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले स्थानीय स्तरमा भएका जनशक्ति र साधन स्रोतलाई सहि तरिकाबाट परिचालन गर्न सकिएको खण्डमा विपदको सामना गर्न सकिने बताए । तामाङले विपद्को क्षेत्रमा स्थानीय तहहरुको सक्रियता कम भएको पनि भन्दै बढाउन आग्रह गरे । उनले स-साना कुराहरुमा ध्यान नपुर्याउदा विपदमा ठूलो क्षति हुने गरेको बताए । अभिमुखिकरण तालिम मंगलबार सकिने छ ।