राप्ती – राप्ती नगरपालिकाले आगामी वर्षका लागि ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । आज (शुक्रबार) आयोजित ११ औं नगर सभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड ९२ लाख ६४ हजार बराबरको बजेट ल्याएको हो ।
सभामा नगर उपप्रमुख देवेन्द्र लामाले आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए ।उपप्रमुख लामाका अनुसार ५३ करोड २० लाख तथा पुँजीगत तर्फ ३७ करोड ७२ लाख ६४ हजार बराबरको वजेट छ । नगरले आगामी वर्ष ८ करोड ५० लाख आन्तरीक श्रोतबाट उठाउने लक्ष्य लिएको छ । संघीय सरकार समानिकरण अनुदानमा १८ करोड ५३ लाख,सशर्त अनुदान चालु तर्फ २९ करोड १४ लाख,पुँजीगत तर्फ ५ करोड १२ लाख,विषेश अनुदान पुँजीगत तर्फ २ करोड,समपुरक अनुदान पुँजीगत तर्फ ८० लाख रहेको छ ।


त्यस्तै प्रदेश सरकार समानिकरण अनुदान तर्फ १ करोड ८१ लाख ८८ हजार,सशर्त अनुदान चालु २ करोड ७० लाख,विषेश अनुदान पुँजीगत तर्फ ४० लाख र समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ६८ लाख रहेको छ । नगर सभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शमशेर लामाले कृषि र किसान लाभान्वित हुने कार्यक्रम ल्याउन लागिएको बताए । कृषि क्षेत्रको विकासका लागि बीमा सुविधा,भण्डारण,कृषि सामाग्रीको सरल र नियमित उपलव्धता,सिंचाई लगायतको व्यवस्था गरिने प्रमुख लामाले बताए ।