उपचारका लागि आउने बिरामीसँग पार्किङ शुल्क असुल्ने तयारीमा भरतपुर अस्पताल

एटुजेड समाचार

चितवन – संघीय अस्पतालको रुपमा बिकसित भरतपुर अस्पतालले उपचारका लागि आउने बिरामीसँग नै पार्किङ शुल्क उठाउने भएको छ । मध्यम तथा निम्न आर्थिक अवस्था भएका बिरामीले सेवा लिने सरकारी अस्पतालले नै सेवाग्राहीबाट पार्किङको शुल्क लिने भएको हो ।

अस्पतालले पार्किङका लागि बोलपत्र नै आह्वान गरेको छ । पार्किङ क्षेत्र भाडामा लगाउनका लागि भन्दै अस्पतालले गत ७ गते मंगलबार बोलपत्र आह्वान गरेको हो । अस्पतालले पार्किङ क्षेत्र भाडामा लिनका लागि सूचना प्रकाशित भएको ३० दिन भित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

निजी अस्पतालको सेवा महङ्गो हुने हुँदा मध्यम तथा निम्न वर्गीय सेवाग्राही सरकारी अस्पताल धाँउछन् । पछिल्लो समय भरतपुर अस्पतालमा सेवा लिने सेवाग्राहीको संख्या उकालो लाग्दै गइरहेको छ । सस्तोमा सेवा पाउने भएपछि सरकारी अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढेको छ ।

तर त्यही सरकारी अस्पतालले पार्किङ क्षेत्र भाडामा दिएर सेवाग्राहीसँग शुल्क असुल्न बोलपत्र आह्वान गरेको छ । उसो त अस्पतालमा पार्किङ नि:शुल्क गर्नुपर्ने आवाज बेला-बेला उठिरहेको हुन्छ । तर यसको कुनै प्रवाह नै नगरि अस्पतालले पार्किङ शुल्क उठाउन लागेको छ ।

चार वर्ष अघि पनि भरतपुर अस्पतालले पार्किङ भाडामा दिन भन्दै बोलपत्र आह्वान गरेको थियो । त्यसको चर्को आलोचनापछि अस्पताल प्रशासन उक्त निर्णयबाट पछि हट्न बाध्य भयो । अहिले फेरि अस्पतालले पार्किङ व्यवस्थित गर्ने भन्दै बोलपत्र आह्वान गरेको छ ।

आज (शुक्रवार) अस्पतालले आफ्नो फेसबुक पेजमा नै बोलपत्रको सूचना सार्वजनिक गरेको छ । सूचना सार्वजनिक भए लगत्तै सेवा सुविधाको हिसाबले प्रशंसा बटुल्दै गएको अस्पतालको उक्त निर्णयको आलोचना सुरु भएको छ । कानुन अनुसार पनि अस्पतालले पार्किङ शुल्क उठाउन पाउँदैन । अस्पताल भित्र पार्किङ गरिने सवारी साधन बिरामी र उनका आफन्तको मात्रै हुन्छन् । स्वस्थ व्यक्ति अस्पताल जादैनन् । तर अस्वस्थ भएर उपचारका लागि अस्पताल जाने बिरामीसँग अस्पतालले गेटबाटै शुल्क उठाउन सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले पार्किङ व्यवस्थित गर्न भन्दै बिरामी र उनका आफन्तसँग दोहोरो शुल्क असुल्न बोलपत्र आह्वान गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेल अस्पतालमा पार्किङ शुल्क उठाउनु उचित नभएको स्वीकार गर्छन् । तर पार्किङ व्यवस्थित गर्नका लागि यस्तो निर्णय भएको उनी बताउँछन् ।

अस्पतालले आफ्नो कर्मचारी लगाउदा पनि धान्न नसकेपछि पार्किङ भाडामा दिने बोलपत्र आह्वान गरिएको उनको भनाई छ । ‘पार्किङ शुल्क उठाउन हुन्न भन्ने कुरा सहि हो । पहिला पनि निर्णय भएको हो । तर लिन हुन्न भन्ने कुरा उठेपछि छोड्यौं, उनी भन्छन्, ‘हाम्रो गार्ड, कर्मचारी लगाएर धान्नै नसक्ने अवस्था आयो । भाडामा दिदा व्यवस्थित हुन्छ ।’

उनी अस्पताल क्षेत्र भित्रबाट मोटरसाइकल र हेल्मेट चोरी भएको गुनासो धेरै आएकोले पनि सुरक्षाका स:शुल्क पार्किङको निर्णय गरिएको बताउँछन् । ‘हाम्रो कर्मचारीबाट सम्भव नै भएन । कहिले मोटरसाइकल, कहिले हेल्मेट चोरीको गुनासो धेरै आयो । सुरक्षा दिन सकिएन’, उनी भन्छन् ।

सेवाग्राहीलाई असर नपर्ने गरि पार्किङ शुल्क तोकिएको उनी बताउँछन् । बोलपत्रबाट छनौट हुने संस्थाले साइकल पार्किङको पाँच रुपैयाँ तथा मोटरसाइकलको १० र चार पाङ्ग्रे सवारी साधनको १५ रुपैयाँ मात्रै लिने पाउने गरि सम्झौता गरिनेछ ।

यद्दपी अस्पतालले आफ्नै कर्मचारीबाट पार्किङलाई व्यवस्थित गर्नुपर्ने आवज उठ्न थालेको छ । बिरामी कुरुवा तथा बिरामीका आफन्त अस्पताल जाँदा निःशुल्क पार्किङको व्यवस्था हुनुपर्ने भन्दै अस्पतालको निर्णयको आलोचना सुरु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू