काठमाडौं – नेपाल हस्तकला महासंघले छिमेकी मित्रराष्ट्र चीनमा नेपाल हस्तकला सामग्री प्रवद्र्धन गर्न आग्रह गरेको छ ।महासंघले आज जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भेटेर नेपाली परम्परागत हस्तकलालाई चीनमा प्रवद्र्धन गर्न आग्रह गरेको हो । भेटमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले चीनमा रहेको नेपाली राजदूतावासमा नेपाली परम्परागत हस्तकला झल्किने वस्तुको प्रदर्शनी कक्ष राख्नुपर्ने बताए ।
उनले नियमितरूपमा भन्सार नाका नखुल्दा नेपाली हस्तकला निर्यातमा समस्या भएको भन्दै भन्सार नाका सहजीकरणका लागि चीन सरकारसँग आवश्यक पहल गर्न आग्रह गरे । अध्यक्ष शाक्यले ठूलो जनसङ्ख्या र स्रोतसाधन भएको चीन नेपाली हस्तकलाको ठूलो बजार भए पनि उच्च भन्सार दर र चिनियाँ बैंक नेपालमा नहुँदा हस्तकला कारोबारमा समस्या परेको बताएका थिए ।


महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्य, उपाध्यक्ष दीपेन्द्र शाक्य, नवीन शाक्य र दिल्लीरत्न तुलाधरले चिनियाँ हस्तकला मेलामा नेपाली हस्तकला व्यवसायीलाई सहभागी गराउने वातावरण निर्माण गर्न नवनियुक्त राजदूतसमक्ष आग्रह गरेका थिए ।भेटमा नवनियुक्त राजदूत श्रेष्ठले चीनमा नेपाली व्यापार व्यवसाय सहजीकरणका लागि आफ्नो कार्यकालमा सक्रियतापूर्वक कार्य गर्ने बताएका थिए ।रासस