चितवन – चितवनमा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १० कि गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा गए राति ११:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पाँच दिनदेखि उपचाररत माझीको सोमबार मात्रै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि पोष्टअपमा उपचारमा हुँदा घाइतेको मुटुको चाल अचानक रोकिन पुगी मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । अचानक कार्डियाअरेष्ट भएपछि ज्यान गरेको उनले बताए ।
पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गीताका दुई छोरी छन् । श्रीमानले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । कम्मरको हड्डी भाँच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले रामचन्द्रविरुद्ध लिखित उजुरी पर्न बाँकी रहेको बताए ।
घाइतेको मृत्युअघि आरोपिविरुद्ध ज्यानमार्ने उद्योग र बलात्कारको मुद्दा दर्ता गरेर अनुसन्धान भएकामा अहिले मृत्यु भइसकेपछि अब ज्यानसम्बन्धी मुद्दाको प्रक्रियाअघि बढ्ने उनले बताए । अब उजुरी नआए पनि ज्यान मरिसकेको भएकाले ज्यानसम्बन्धी र बलात्कार मुद्दामा कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।