तारा एयरको विमान दुर्घटना : २१ जनाको शव भेटियो

काठमाडौं – दुर्घटनाग्रस्त तारा एयरमा सवार २१ जनाको शव फेला परेको छ। मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव भेटिएको हो ।
थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको जानकारी दिए। सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए।
त्यसमध्ये एक जनाको शव भने खोज्ने काम भइरहेको उनले बताए। १० जनाको शव कोवाङमा ल्याइसकेको छ। शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ। शवको पहिचान भने भइसकेको छैन।
आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबारे बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो । सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो।
तपाइँको प्रतिक्रिया