भरतपुरमा १५० बढी चालकहरुको स्वास्थ्य परीक्षण

भरतपुर – भरतपुरमा सवारीचालकहरुको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नारायणगढ लेडी जेसीज, नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले स्वास्थ्य शिविर संयुक्त रुपमा आयोजना गरेका थिए ।
पुष्पाञ्जली अस्पताल भरतपुर र भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । १ सय ५० बढीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिए । अधिकाँस चालकहरुमा सुगरप्रेसर र आँखामा समस्या देखिएको थियो ।
चितवन ट्राफिक प्रमुख धर्मबहादुर अधिकारीले नियमित स्वास्थ्य परीक्षणका लागि उत्प्रेरित गर्न स्वास्थ्य शिविर गरिएको बताए । नारायणगढ लेडी जेसीजका अध्यक्ष अनिता श्रेष्ठ अधिकारीले चालकहरु स्वस्थ्य बने सम्भावित जोखिम न्यूनिकरण गर्न सकिने बताए । शिविरमा अटोरिक्सा, म्याजिक, मिनिबस लगायत जिल्लाभित्र सञ्चालनहुने सार्वजनिक सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
नारायणगढ बसपार्क टोलसुधारका अध्यक्ष सन्तोष श्रेष्ठले स्वास्थ्य शिविर निकै उपयोगी बनेको बताए । यसैबीच, भरतपुर वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जन सहितका १० जनाले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका थिए ।
तपाइँको प्रतिक्रिया