भरतपुर विमानस्थल विस्तार : नीति तथा कार्यक्रममा आयो, बजेटमा आएन

चितवन – सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा भरतपुर विमानस्थल विस्तार योजना भने समेटिएको छैन । स्थानीय सरकारले गौरवको आयोजनाको रुपमा लिएको विमानस्थल विस्तार आगामी आर्थिक वर्षको बजेटमा परेन ।
केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा विमानस्थललाई पनि समेटिएको थियो । तर सराकारले आज सार्वजनिक गरेको बजेटमा भने विमानस्थल विस्तार आयोजना समेटिन सकेन ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले मुख्य योजनाहरु समेटिदा विमानस्थल विस्तार योजना नसमेटिएको बताईन् । उनले यसको बारेमा फेरि पनि आवश्यक समन्वय गरिने बताएकी छन् । ‘मुख्य योजनाहरु बजेट भाषणमा प्रस्तुत भएको छ। तर भरतपुर एअरपोर्ट स्तर उन्नतिको बारे नीतीमा त आयो बजेटमा सुनिएन, उनले भनिन्, ‘फेरी पनि यसको बारे आवश्यक समन्वय हुनेछ।’
सरकारले रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउनका लागि बजेट विनियोजन गरेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशालाको निर्माणको काम अहिले ठप्प रहेको छ । आर्थिक स्रोत जुटाउन नसकेपछि फाउण्डेशनले परियोजनाबाट हात झिकेको थियो ।
यस्तै सरकारले नारायणी नदीमा सिग्नेचर पुल, शक्तिखोरमा औद्योगिक ग्राम, शिक्षक अस्पताल, महानगरको ढल व्यवस्थापन, नारायणी तटबन्धन र नारायणीको पर्यटन बिकास, महानगरको प्रशासनिक भवन, सिंचाई तथा खानेपानीलगायतलाई भने बजेटमा समेटेको छ ।
काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ–चितवन द्रुतमार्ग, कठारमा रिक्रियसन सेन्टर निर्माणलगायतलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समेटिएको छ ।
तपाइँको प्रतिक्रिया