मानवसेवा आश्रम चितवनबाट एक वृद्ध बेपत्ता, परिवार भन्छ : आश्रमको लापरबाही

चितवन – मानवसेवा आश्रम चितवनबाट एक वृद्ध बेपत्ता बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका ६ ईन्द्रपुरीचोकका ८० वर्षीय तोयनाथ पौडेल जेष्ठ १२ गते बिहीबार राति आश्रमबाट बेपत्ता भएका हुन् ।
पौडेललाई सोही दिन दिउँसो २ बजे गैंडाकोटबाट उद्धार गरिएको थियो । ईलाका प्रहरी कार्यालय गैंडाकोटले उद्धार गरी आफन्त सम्पर्कमा नआएसम्मका लागि आश्रममा आश्रयका लागि पठाएको थियो ।
मानव सेवा आश्रमले उद्धार गरेकै दिन रातिबाट उनी बेपत्ता भएका हुन् । आश्रमले पौडेल बिना जानकारी फरार भएको जनाएको छ । तर बेपत्ता भएका पौडेलको परिवारले भने आश्रमले लापरबाही पूर्वक राति ८० वर्षीय वृद्धलाई छोडेको आरोप लगाएको छ ।
आश्रमले पर्खाल नाघेर फरार भएको भनेको भन्दै पौडेलका ज्वाँई शालिग्राम ढकालले भने,’८० वर्षीय वृद्ध पर्खाल नाघेर भाग्न कसरी सम्भव हुन्छ । जबकी हामी नै त्यो ठूलो पर्खाल नाघ्न सक्दैनौं ।’ उनले आश्रमले लापरबाही गरेको बताए ।
उनका अनुसार पौडेल बिहीबार दिउँसो १ बजे प्रेमबस्तीचोकबाट हराएका थिए । उनको खोजी गर्दै जाने क्रममा राति जिल्ला प्रहरी कार्यालय मार्फत उनी आश्रममा रहेको भनी जानकारी पाएको ढकालले बताए । शुक्रबार बिहान करिब १०:३० बजे आश्रममा पुग्दा उनी त्यहाँ नरहेको ढकालले जानकारी दिए ।
यता आश्रमले भने गत बैशाख ३१ गते पुलचोकबाट उद्धार गरिएकी ३० वर्षीया माया श्रेष्ठ र पौडेल बिना जानकारी आश्रमबाट फरार भएको बताएको छ । मनोरोगी श्रेष्ठ यस अघि पनि आश्रमबाट भागेकी थिईन् । उनलाई उद्धार गरेर पुन: आश्रममा ल्याईएको थियो । आश्रमले बेपत्ता दुबै जनाको खोजी गरिदिन वडा प्रहरी कार्यालय नारायणगढलाई निवेदन दिएको छ ।
तपाइँको प्रतिक्रिया