चितवन – नेकपा एमाले चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले नारायणी नदीमा नयाँ पुल बनाउनका लागि सरकारसँग बजेट माग गरेका छन् । अहिलेको पुल जिर्ण भएको भन्दै उनले नयाँ पुल निर्माणका लागि बजेट माग गरेका हुन् ।
उनले २०३५–३६ सालमा बनेको पुल जीर्ण हुँदै गएकोले मुलुकको लाइफलाइनसँग जोडिएको विषय भएकोले नयाँ पुल बनाउनुपर्ने बताए । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले नारायणीमा थप २ पुल बनाउन सरकारको ध्यानार्कषण गराएका हुन् ।
यस्तै गौरवको आयोजनाका गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका बारेमा सरकारको नीति तथा कार्यक्रममा आवश्यक समन्वय तथा सहजीकरण गर्ने भन्ने उल्लेख भएको प्रति टिप्पणी गर्दै सांसद पोखरेलले रंगशाला बनाउन रकम माग गरे ।
मझिमटारदेखि चितवनको शक्तिखोरसम्म सुरुङमार्ग बनाउने कार्यक्रम एमाले नेतृत्वको सरकारको पालामा आएको स्मरण गर्दै सांसद पोखरेलले सो काम अहिलेसम्म अगाडि बढ्न नसकेको बताए । उनले यसवर्ष भित्र यसको डीपीआर बनाएर काम थाल्न सरकारलाई आग्रह गरे ।