काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका छन् ।
उनले प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका हुन् । ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भने, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’
पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौति भएको थापाले बताए । ‘नेपालजस्तो अर्थतन्त्र भएको मुलुकलाई सबैभन्दा ठूलो चूनौति नै व्यापार घाटा हो,’ थापाले भने, ‘कतिपय देशलाई व्यापारघाटा ठूलो चूनौति होइन । तर, नेपालजस्तो अर्थतन्त्र भएको मुलुकमा यो समस्या हो ।’ खासगरी, पेट्रोलियम पदार्थको बढ्दो आयात नै व्यापारघाटा न्यूनीकरणको चूनौति भएको थापाको भनाइ छ ।